सुर्खेत : कर्णाली ऐतिहासिक, धार्मिक, सांस्कृतिक हिसाबले मात्र होइन मनमोहक दृश्यहरूको खानी पनि हो । कर्णाली प्रदेश देशको मात्र नभई विदेशको नमुना गन्तव्य बन्न सक्ने प्रशस्त आधारहरू छन् । ती आधारहरूलाई आत्मसाथ गर्दै चलचित्रको माध्यमबाट कर्णालीलाई विश्व बजारमा परिचित गराउने उद्देश्यसहित कर्णालीमा दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिएको छ । कर्णालीको समग्र विकासका पाटाहरूभित्र चलचित्रका माध्यमबाट कर्णाली हव बन्न सक्ने धेरै प्राकृतिक आधारहरू हुँदा हुँदै पनि यसको प्रचार प्रसार हुन नसकेका कारण पछि परेको भन्दै कर्णालीको पर्यटनमा विकास गर्न महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा औपचारिक उद्घाटन पश्चात् यो अभियानअन्तर्गत यो वर्ष चार स्थानमा महोत्सवका विभिन्न विषयहरूलाई समावेश गरेर काम सुरु गरिने भएको छ । सोही अन्र्तगत कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन सम्पन्न भएको छ ।
पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर र दैलेखको गुराँस गाउँपालिकामा विभिन्न कार्यक्रमहरू सम्पन्न भएको महोत्सवमा राजनीतिक संवाद, कर्णाली चलचित्र संवाद, चलचित्रमा साहित्य गजल, कर्णाली पर्यटन संवाद, गुराँस चलचित्र पर्यटन संवाद सम्पन्न भएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले जानकारी दिएका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, सांसद रामकुमारी झाँक्री, सांसद कुन्ती कुमारी शाही, पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद जीवन बहादुर शाही, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, पर्यटन मन्त्री सुरेश अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहन माया ढकाल, चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश डी.सी., अभिनेता प्रदीप खड्का, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणा, लेखक नवराज केसीलगायतको सहभागितामा कर्णालीको चलचित्र क्षेत्रको सम्भावनाका बारेमा विभिन्न चरणमा बहसहरू सम्पन्न भएका छन् ।
महोत्सव उद्घाटनमा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कर्णाली प्रदेश इतिहास, कला, साहित्य, संस्कृति र प्राकृतिक सुन्दरताले भरिपूर्ण प्रदेश भएकाले चलचित्र छायांकनका लागि सर्वोत्कृष्ट भएको बताए । कँडेलले भने, ‘यसअघि केही चलचित्रकर्मीहरूले चलचित्र छायांकन गरेर कर्णालीको पर्यटन विकासमा योगदान पु¥आउनुभएको छ, अझै धेरै काम गर्ने जमर्को जसरी गरिरहनुभएको छ, त्यसका लागि धन्यवाद । तपाईहरुलाई सहयोग गर्नका लागि तीन तहका सरकार मिलेर आवश्यक पूर्वाधार लगायतका अन्य क्षेत्रको विकास र संरक्षणमा सरकार प्रतिबद्ध छ ।’
गुराँस गाउँपालिकाको ८औँ स्थापना दिवसको अवसरमा गुराँस क्षेत्रको कृषि तथा पर्यटनमा कसरी लगानी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा चलचित्र महोत्सवको टोली नै पालिकामा पुगेर त्यहाँको प्राकृतिक सौन्दर्यताको प्रत्यक्ष अवलोकन सहित सार्वजनिक बहस सम्पन्न भएको छ । गुराँस फुल्ने सिजनकै बेला चलचित्र निर्माता, अभिनेता सहितको टोलीले गुराँसे क्षेत्रको स्थलगत अवलोकनसँगै यहाँको सम्भावनाका विषयहरूमा जानकारी लिएकाले आगामी दिनमा गुराँसे क्षेत्र पनि चलचित्र पर्यटनका हिसाबले थप विकास हुनेमा आशावादी भएको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले जानकारी दिएका छन् ।
‘२६ करोड’ चलचित्रको छायांकन कर्णालीमै
महोत्सवकै अवसरमा विकास सुवेदीको निर्देशनमा निर्माण हुन लागेको ‘२६ करोड’ नामक फिल्मको कर्णालीमै छायांकन गर्ने औपचारिक सम्झौता समेत गरिएको छ । यसले कर्णाली प्रदेशमा चलचित्रको भविष्य, स्थानीय कथावस्तुको सम्भावना र क्षेत्रीय चलचित्र विकासका विषयमा छलफलका लागि आगामी दिनहरूमा निकै सहज हुने आशा गरिएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित महोत्सवले कर्णालीलाई नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्र छायांकनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि निकै ठुलो सहयोग पुग्ने आशा गरिएको छ ।










